काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । “प्रदर्शनकारी र प्रहरीबीचको झपडमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ”, उनले भने, “घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।”
अपराह्न १२ः०० बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरु उपचारका लागि आउन थालेको उनले बताए । अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए । प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक जारी
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुुखसँग छलफल गरेका थिए ।