काठमाडाैं । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ । कैलास गाउँपालिका–१ स्थित बोल्ने लेकको जङ्गलमा पेस्तोल भेटिएको हाे ।
सोमबार दुम्सीखर्क जङ्गलमा अपरेशनमा गएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरू फरार भएका थिए । लागुऔषध कारोबारी पक्राउ गर्न इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीलाई लागुऔषध कारोबारीले कुटपिट समेत गरेका थिए ।
प्रहरीले बरामद गरेको २ केजी अफिम र मोटरसाइकल पछि ठुलो संख्यामा आएका कारोबारीले लुटेर लगेका थिए । लुटिएको टाइप–५४ पेस्तोल भेटिएको र लुटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।