काठमाडौं । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने भएको छ ।
नगरपालिकाले आगामी २०८३ साल मङ्सिरदेखि लागू गर्ने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन् ।
यससम्बन्धमा शुक्रबार शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । सम्झौताअनुसार मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ५ एम्पियर मिटर जडान गरेका ग्राहकको न्यूनतम विद्युत् शुल्क नगरपालिकाले व्यहोर्नेछ ।
नगरपालिकाका अनुसार कार्यक्रम २०८४ साल असार मसान्तसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमअन्तर्गत सुविधा लिन ५ एम्पियरको मिटर जडान गरेका नगरवासीले एक पटक सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिनुपर्नेछ । त्यसपछि मासिक २० युनिटसम्मको न्यूनतम विद्युत् शुल्क तिर्न विद्युत् कार्यालय पुग्नुपर्ने छैन ।
विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । दुर्गम तथा दूरदराजका बस्तीका नागरिकले सामान्य विद्युत् शुल्क बुझाउन सदरमुकामसम्म पुग्दा लाग्ने यातायात खर्च र समय बचत हुने नगरपालिकाको अपेक्षा छ ।