काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ५ जनाको शव फेला परेको छ भने १२ जनाको खोजी कार्य भइरहेको छ ।
नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ । रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ । नगरपालिकाभित्र ३ सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । पशु चौपायाको कति क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।
खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको छ ।
त्यसैगरी नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नगरपालिको विपद् व्यवस्थापन टोली र स्थानीय समेत मिलेर रोशीले बगर बनाएको क्षेत्रमा खोजी र उद्धार कार्य भइरहेको जनाइएको छ ।