काठमाडौं । पहिरोले घर पुरिएर पूर्ववडाध्यक्ष दम्पतीसहित ४ जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुईजना र फिदिम नगरपालिकामा दुईजनाको मृत्यु भएको हो ।
पहिरोले सिन्धुपाल्चोकको लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको हो । पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको हो । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका ४ चिसापानी स्थित आदिवासी जनजातिको भवन छेउको घरमा गएराति पहिरोले खस्दा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबैजानाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ। उनीहरू फिदिम–४ मा डेरामा बस्दै आएका थिए ।
साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।