काठमाडौं । अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरुमा समेत पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घरहरु डुबानमा परेपनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । सुनकोसीमा आएको भिषण बाढीका कारण डुबानको समस्या आएको प्रहरीको भनाइ छ ।
बाढी र ठाउँठाउँको पहिरोका कारण बीपी राजमार्ग समेत अबरुद्ध बनेको छ । विपि राजमार्ग अन्तर्गतकै धुलिखेल -११ पात्लेखेत मा पनि पहिरो झरेर बाटो अबरुद्ध भएको छ!
खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ । सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको हाे ।
गोलान्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको छ ।
