काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै ७ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार ११ अर्ब ६ करोड ५२ लाख ४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।
त्यस्तै, एलपी ग्यास ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २ अर्ब ९४ करोड रुपैयाँ बराबरको मोटरसाइकल र २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ ।
नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै १ अर्ब ९९ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।