पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू भएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो । २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको हाे ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।