काठमाडौं । लुम्बिनी गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात गरेका छन् ।
राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्यक्रम भइरहेको बेलामा ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा प्रवेश गरेको थियो । उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन् ।
कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेको थियो । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ ।
लुम्बिनीमा गुरुयोजनाअन्तर्गतका विभिन्न निर्माण र साैन्दर्यकरणको काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी रामजानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीका कर्मचारी, प्राविधिकहरूले हातपात गरेका हुन् ।