काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज सोमाबरदेखि देशभरि सहुलियत पसल सञ्चालन गर्न थालेको छ । भदौ २३ गतेदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय अनुसार सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आएको हो ।
साल्ट ट्रेडिङले प्रत्येक वर्ष झैं यसपालि पनि सहुलियत पसल सञ्चालन थालेको हो । सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । साल्ट ट्रेडिङका अनुसार काठमाडौं, भक्तपुर र काभ्रेमा सहुलियत पसल सञ्चालन भएको छ ।
साल्ट ट्रेडिङका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न, गेडागुडी, तेल र मसलाजन्य सामग्री मात्रै पाइन्छ । बजार मूल्यभन्दा नुनमा किलोको २ रुपैयाँ र चिनीमा ५, तेल लिटरमा ७, चिउरा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।
साल्ट ट्रेडिङका अनुसार उपत्यकामा कालिमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु,भक्तपुर (सल्लाघारी), कौशलटार, बनेपा, धुलिखेल (चेम्बरको सहकार्यमा) र घुम्ती ३ वटा सञ्चालनमा आएको छ ।
साल्ट ट्रेडिङले उपत्यका बाहिर २१ जिल्लाका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । झापा बिर्तामोड, मोरङ विराटनगर, सप्तरी राजविराज, सिरहा लहान, धनुषा जनकपुर, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा, चितवन नारायणगढ र नुवाकोट त्रिशूलीमा सहुलियत पसल सञ्चालनमा आएको हो ।
त्यसैगरी कास्की पोखरा, बागलुङ, रुपन्देही भैरहवा, कपिलवस्तु कृष्णनगर, दाङ, सुर्खेत, बाँके नेपालगञ्ज, कैलाली धनगढी, टिकापुर र अत्तरिया, कञ्चनपुर बेलौरी र महेन्द्रनगर, डोटी दिपायल र बैतडी बैतडी पाटनमा सहुलियत पसल खुलेको हो ।