काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय भएको छ ।
त्यसैगरी उनलाई १० करोड १० लाख ६१ हजार ७५ जरिवानासमेत कायम गरिएको छ ।
त्यसैगरी सोही मुद्दामा दोषी ठहर भएका अर्का प्रतिवादी सूर्यराज कँडेललाई पनि आठ वर्ष एक महिना कैद सजाय तथा १० करोड १० लाख ६१ हजार ७५ जरिवाना गरिएको छ ।
अर्का प्रतिवादी रामचन्द्र देवकोटालाई पनि आठ वर्ष एक महिना कैद र २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना कायम गरिएको छ ।
त्यसैगरी अर्का प्रतिवादी शिवकुमार शर्मालाई आठ वर्ष कैद सजाय भएपनि ६५ वर्ष उमेर नायकको हिसाबले २५५ छुट गरी सजाय गरिएको छ । उनी विरुद्ध २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना कायम गरिएको छ ।
त्यसैगरी अन्य तीन कम्पनीहरूलाई पनि जरिवाना ठहर गरिएको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सजाय निर्धारण गरेको हो ।
यसअघि गत भदौ २४ गते उनीहरू कसुरदार ठहर भएका थिए ।
विशेष अदालतले दुई कम्पनीलाई ६ करोड २१ लाख ९३ हजार ५९६ जरिवाना गरेको छ भने अर्को एउटा कम्पनीलाई २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ जरिवाना गरेको छ ।