काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान फरार भएका ९ जना थुनुवामध्ये ६ जना पक्राउ परेका छन् । थुनुवा फरार भएपछि खोजतलास थालेका धनुषा प्रहरीले बिहानै एकजना र दिउँसो ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फरार ५ जना थुनुवालाई धनुषाको लखौरी इलाकाका विभिन्न स्थानबाट दिउँसो नियन्त्रणमा लिएको हाे । लखौरीबाट भारत पस्ने तयारीमा रहेका ५ जना थुनुवालाई नियन्त्रणमा लिइसकिएको र अन्य पनि खोजतलास तीव्र पारिएको प्रहरीले जनाएकाे छ ।
धनुषा प्रहरीले हिरासतबाट फरार भएका जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रोशनकुमार मण्डल, सिरहा–१३ का अभास्करकुमार यादव, जनकपुर–१ का सुमित मेस्तर र जनकपुर–४ का बिक्की कार्कीलाई पक्राउ परिसकेका छन् ।
फरार रहेका धनुषा गिद्धा–५ का रञ्जित मण्डल र धनुषा देउरी परवाहा–४ का विशाल मुखिया र नगराईन–२ का मनिष मण्डलको खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ । फरार भएका थुनुवाहरु लागुऔषध र अभद्र व्यवहारसँग सम्बन्धित छन् ।
प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टीलेशन फोडेर थुनुवाहरु फरार भएका थिए ।