काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको हुन् ।
आइतबार राति छुट्टा–छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका–८ स्थित बिरिङ खोलाको पुलमा यूपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । यो घटना आइतबार राति भएको थियो ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ मा डब्लूबी–७३-ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।
प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको जनाइएको छ ।