काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर धनुषाको जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध पारिएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहसहितका स्थानीयले सडक अवरुद्ध गरेका हुन् । बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बस्दै यातायात अवरुद्ध पारेका छन् ।
भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत फेला परेको थियो । घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।
घटनाबारे स्कुलले मृतक रजनीशका परिवारलाई ढिलो जानकारी दिएको थियो । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको उनीहरुको दावी छ ।
गणेशले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमार्टम रिपोर्ट माग्न जाँदा वकिल र डाक्टर उपस्थित गराएर मात्रै रिपोर्ट देखाउने भनिएको छ । त्यस्तै विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको जनाइएको छ ।
मृत्यु घटना पश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए । भदौ २१ गते सपहीमै सडक अवरुद्ध गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गर्ने आश्वासन दिए पनि अहिलेसम्म दर्ता नभएको जनाइएको छ ।
उनीहरुले बाध्य भएर सडक अवरुद्ध गरेको र जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।