चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले भने, “सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ ।”
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिए । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उनले जनाए । मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।”
मन्त्री पौडेलले स्वास्थ्य बीमालाई ५ लाख रुपैयाँ बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए । उनले भने, “हाम्रो प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भए लगत्तै पाँच लाखको बीमा कार्यान्वयन हुन्छ ।”