काठमाडौं । मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकका लागि स्थानीय सरकारले प्रवेश शुल्क तोकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क बापत प्रतिव्यक्ति १ हजार रुपैयाँ लिने भएको छ भने स्वदेशी पर्यटकले प्रतिव्यक्ति २ सय रुपैयाँ लिने भएको छ ।
यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो शुल्क तोक्ने निर्णय गरेको स्थानीय सरकारको निर्णयमा उल्लेख छ ।
स्थानीय सरकारले सो रकम पर्यटकको सुरक्षा, फोहोरमैला व्यवस्थापन, डढेलो नियन्त्रण, नयाँ तथा वैकल्पिक पदमार्थ निर्माण, बाटो–पुल निर्माणमा खर्च गर्ने जनाएको छ । यसैगरी खानेपानी निर्माण, सेल्टर तथा चौतारी निर्माण, साइन पोष्ट तथा म्याप राख्ने, स्थानीयलाई पर्यटनसँग सम्बन्धित तालिम दिने योजना समेत बनाएको जनाइएको छ ।
विभिन्न निकुन्ज तथा संरक्षण क्षेत्र प्रवेश गर्न पर्यटकले अनुमति लिनु पर्छ । सो बेला सरकारले निश्चित शुल्क लिने गरेको छ ।