पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा
     
    कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ५५ हजार ५ सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा ४ लाख ६ हजार ७ सय २९ र इर्मेजेन्सीमा ४८ हजार ७ सय ७७ जनाले सेवा लिएका हुन् ।
     
    ओपिडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा १ लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार ९ सय ८४, गर्भवती जाँच ३७ हजार ९ सय ४२, बालरोग ३२ हजार २ सय ४०, सर्जरीमा २७ हजार ४ सय ७५ र प्रसूतिमा २५ हजार ८ सय ८७  जनाले सेवा लिएका छन् ।
     
    यसैगरी आर्थिक बर्ष २०७८/७९ मा ओपिडीमा २ लाख ७२ हजार तीन सय ५९ र इर्मेजेन्सीमा ४० हजार सात सय ३९ जनाले सेवा लिएका थिए भने आर्थिक बर्ष २०७९/८० मा ओपिडीमा तीन लाख ५६ हजार चार सय दुई तथा इर्मेजेन्सीमा ५४ हजार नौ सय ७१ जनाले सेवा लिएको गौतमले जानकारी दिए ।
     
    “अस्पतालमा देशका सात प्रदेश तथा ७७ वटै जिल्लाबाट बिरामीले सेवा लिएको देखिन्छ । बर्सेनि ओपिडी र इर्मेजेन्सीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । सेवाग्राही बढेसँगै अस्प्तालको साधनस्रोत र क्षमता वृद्धि गर्नुपर्ने चुनौती थपिँदै गएको छ”, गौतमले भने ।
     
    अस्पतालका अनुसार गत आर्थिक बर्षमा २२ हजार एक सय ४७ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन् । यो सङ्ख्या आर्थिक बर्ष २०७८/७९ मा २० हजार चार सय ६६ र आर्थिक बर्ष २०७९/८० मा २२ हजार ६ सय ८४ रहेको थियो । 
     
    अस्पतालका अनुसार ओपिडी तथा आकस्मिक कक्षमा उपचार सेवा लिने बिरामीमध्ये सवैभन्दा बढी कास्की जिल्लाका छन् । त्यसपछि तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ र पाल्पाका नागरिकले सेवा लिएका छन् । 
     
    अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ । 
     
    हालको पोखरा महानगरपालिका–१० मा २०१२ सालमा सोल्जर बोर्ड अस्पतालका नाममा यो स्थापना भएको हो । त्यसपछि २०१९ सालमा १५ शय्याको जिल्ला अस्पताल बन्यो । २०३२ सालमा ५० शय्या क्षमतामा विस्तार भएर गण्डकी अञ्चल अस्पताल बन्यो । २०४३ सालदेखि १ सय ५० बेड क्षमतामा विस्तार भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विकास भएकामा विभिन्न मितिमा शय्या थपिँदै गएर हाल पाँच सय बेडको अस्पतालमा रुपमा रहेको छ । 
     
    सरकारले २०७२ सालमा अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने घोषणा गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij