नेपालबाट ४० मेगावाट विजुली लैजान बंगलादेश सरकारको स्वीकृति, दशैंअगावै त्रिदेशीय सम्झौताको तयारी

नेपालबाट ४० मेगावाट विजुली लैजान बंगलादेश सरकारको स्वीकृति, दशैंअगावै त्रिदेशीय सम्झौताको तयारी

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • नेपालबाट ४० मेगावाट विजुली लैजान बंगलादेश सरकारको स्वीकृति, दशैंअगावै त्रिदेशीय सम्झौताको तयारी

    काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति दिएको छ । यो परियोजना यसै वर्षको जुनमा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले शुरू गरेको थियो । आन्दोलनका कारण हसिना नेतृत्वकाे सरकार ढलेपछि बनेको अन्तरिम सरकारले नेपालबाट बिजुली किन्ने योजनालाई स्वीकृत गरेको बङ्गलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

    बङ्गलादेशले बिजुली किन्ने योजना स्वीकृत गरेसँगै नेपाल सरकारले दशैंअघि नै बङ्गलादेश र भारतका ऊर्जामन्त्रीहरूसँग संयुक्त छलफल गरेर हस्ताक्षर गर्ने र बिजुली निर्यातको तयारी गरेको छ ।

    यसअघि गएको साउनमै सम्झौता गर्ने तयारी भएकोमा बङ्गलादेशमा सरकारविरोधी आन्दोलन भएकाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता हुन सकेको थिएन । अब नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापछि नेपालबाट बङ्गलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।

    नेपालबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट अर्थात् ७ दशमलव ३२ टाका तोकिएको सरकारले जनाएको छ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारतीय सरकारले प्रसारणलाइनको प्रयोग गर्न अनुमति दिइसकेको छ । प्रसारणलाइन प्रयोग गरेबापतको रकम अर्थात् 'ह्विलिङ चार्ज' बङ्गलादेशले नै तिर्नेछ ।

    बङ्गलादेशले अहिले बिजुली किन्न शुरू गरेमा बङ्गलादेश, नेपाल र भारतबीच त्रिपक्षीय ऊर्जा सहकार्यको नयाँ युग शुरू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चरम ऊर्जा सङ्कटको जोखिममा रहेको बङ्गलादेशले भारतबाट मागेअनुसारको बिजुली नपाएपछि भुटान र नेपालबाट बिजुली किन्ने विषयलाई प्राथमिकतामा राखेको छ । यसले नेपाल र बङ्गलादेश दुवै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने दुवै देशको आशा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij