काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरी यस्तो सुझाव दिएका हुन् ।
स्थानीय तहमा जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी आयोगले गरेको छ ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी सरकारले छिटो मिति तोक्ने बताए । निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न ओलीले आग्रह गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।