माओवादीले आफ्नो अडान नछोडेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित

माओवादीले आफ्नो अडान नछोडेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • माओवादीले आफ्नो अडान नछोडेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

    संघीय संसद सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने  अडान लिएकाे थियाे । दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो ।

    तर, सत्ता पक्ष आफ्नै अडानमा भएकाले आफूहरू निर्णयबाट ब्याक हुने अवस्था नभएको माओवादी सांसद माधव सापकोटाले बताएका थिए ।

    त्यसपछि १ बजेका लागि तय बैठक २ बजेलाई सारिए पनि फेरि सवा ३ लाई सारिएको थियाे । संसद भवनमा सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि आजकाे लागि बैठक स्थगित गरिएकाे सभामुखको सचिवालयले जनाएको छ ।

    माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट सदन बन्धक बनेको छ । योगेशको उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले निरन्तर सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

    केही दिनअघि सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

    त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij