गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जना छुटे

गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जना छुटे

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जना छुटे

    काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदीप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगरलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीहरु चारै जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट प्रहरीले पक्राउ गरेको थियो ।

    ३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

    ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए । प्रहरीले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

    प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुर राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए । प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पु‍र्‍याएका थिए । आक्रमणमा संलग्नहरुमध्ये प्रहरीमाथि हातपात गर्नेहरुलाई पहिचान गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

    त्यसैगरी दुर्घटनामा संलग्न ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij