काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका श्रेष्ठले चलाएको ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षिय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।
२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो । श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
स्थानीयले भने ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्याँससमेत प्रहार गर्नु परेको थियो ।
प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गठ्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए । प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्याएका थिए ।
घटनाको छानबिन गर्न भक्तपुरका सहायक सीडीओ डोरेन्द्र निरौला र प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा छुट्टा-छुट्टै दुई समिति बनेका थिए ।
दुवै समितिले ट्राफिकले दुर्घटनामा परेका सवारी नरोकेको निष्कर्ष निकाल्दै ट्राफिकको गल्ती नरहेको उल्लेख गरी प्रतिवेदन बुझाएको थियो ।