काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएकाको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो ।
विस्फोटमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेकोसमेत मन्त्री पौडेलले जानकारी दिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा विस्फोटमा परेर घाइते भएका १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।
केही दिनअघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।