काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सहकारीहरूलाई नियमनमा ल्याउन कडाइ गर्न थालेको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दै पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन पेश गर्न सहकारीहरूलाई निर्देशन दिएको छ।
महानगरपालिकाका अनुसार सहकारी ऐन, २०७४ को दफा ३९(२) तथा काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम उक्त निर्देशन दिइएको हाे।
‘काठमाडौंँ महानगरपालिकाभित्र मात्र कार्य क्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०८१ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन काठमाडौँ महानगरपालिका सहकारी विभागमा बुझाउन हुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।
महानगरपालिकाले केही दिनअघि सूचना नै जारी गरेर पछिल्लो समय सहकारीसम्बन्धी गुनासो बढ्दै गएको भन्दै वडा कार्यालयहरूमै उजुरी तथा गुनासो दर्ता गर्न पनि आग्रह गरेको छ।
महानगरपालिकाका अनुसार पछिल्लो समय बचत रकम फिर्ता मागसम्बन्धी बचतकर्ताको गुनासो दिनानु बढ्दै गएपछि वडामै गुनासो दर्ता गर्न भनेको हो।