काठमाडौं । चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन् । शुक्रबार अपरान्ह तीन जना स्थानीय नदीमा प्रवेश गरेका थिए। उनीहरूमध्ये एक जना सकुशल छन् ।
इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जीव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो ।
बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए । त्यही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयवासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् । सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए ।