पहिरोले मध्यपहाडी लोकमार्ग लगायतका आधा दर्जन सडक अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग लगायतका आधा दर्जन सडक अवरुद्ध

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • पहिरोले मध्यपहाडी लोकमार्ग लगायतका आधा दर्जन सडक अवरुद्ध
    बागलुङ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
     
    लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् । 
     
    उता दाङमा अविरल वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । 
     
    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन  गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
     
    कालीगण्डकी करिडोर अवरुद्ध 
     
     कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 
     
    करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij