काठमाडौं । मानव बेचिबिखन तथा ओसारपसारविरुद्ध उल्लेखनिय कार्य गरेबापत भारतस्थित किन इण्डिया संस्थाका नवीन जोशी सम्मानित भएका छन् । अठारौँ मानव बेचबिखनविरुद्धकाे राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जाेशी सम्मानित भएका हुन् ।

भारतस्थित किन इण्डिया नामक संस्थाले मानव बेचबिखनमा परि भारतका विभिन्न भागमा रहेका नेपालीहरूलाई उद्धार गर्दै आएको छ । साेही याेगदानका लागि मन्त्रालयले उनलाइ राष्ट्रिय सम्मान प्रदान गरेकाे हाे ।

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)की उपसम्पादक मधु शाही, नागरिक दैनिककी सम्वाददाता सविता खड्का, सञ्चारमाध्यम विधामा पर्सा जिल्लास्थित मध्यनेपाल सन्देश साप्ताहिक, मानव बेचिबिखनबाट प्रभावित पम्फा अधिकारी, रुपन्देहीको सिद्धार्थ नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आवाज संस्था सुर्खेत समेत सम्मानित भएका छन् ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्ध मन्त्रालय चेतना जगाउन अग्रसर रहेको बताए । साथै, मानव बेचबिखनमा परेका नेपालीहरूकाे उद्दार गर्दै आएकाेमा किन इण्डियालाइ धन्यवाद व्यक्तसमेत गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव दीपकराज नेपाल, मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, महिला आयोगका अध्यक्ष कमला पराजुली, सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, पीडित पम्फा अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे । सबै वक्ताले एकल प्रयासले मात्र मानव बेचबिखन उन्मूलन सम्भव नहुने भएकाले सामूहिक प्रयास आवश्यक रहेको साझा धारणाा प्रस्तुत गरेका थिए ।
