प्रस्तावित १७ राजदूतको सुनुवाइ आजदेखि सुरु हुँदै

प्रस्तावित १७ राजदूतको सुनुवाइ आजदेखि सुरु हुँदै

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • प्रस्तावित १७ राजदूतको सुनुवाइ आजदेखि सुरु हुँदै

    काठमाडौं । मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ आइतबारदेखि सुरु हुँदै छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना समितिबाट पारित भएको छ । 

    संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ । चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन् । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको हो । १३ जनाविरुद्ध भने उजुरी परेको छैन ।

    पहिलो दिन सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित पण्डित, मलेसियाका लागि तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाउने कार्ययोजना छ ।

    त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने तयारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij