काठमाडौं । भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो ।
उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत माघको अन्तिममा उनीहरुले एक व्यक्तिलाई कोलकत्ता पुर्याएर मृगौला झिकेको आरोप छ ।
उनीहरुले काठमाडौंमा स्वाथ्य परीक्षण गराएर स्थलमार्ग हुँदै वीरगञ्जबाट कोलकत्ता पुर्याएर मृगौला झिेकेको आरोप लागेको छ । कोलकत्ता पुगेपछि मृगौला दिन इन्कार दिँदा समेत उनीहरुले प्रलोभन देखाउनुका साथै धम्की समेत दिएको पीडितको भनाइ छ ।
मृगौला प्रत्यारोपण गर्न एकाघर परिवारको सदस्य हुनुपर्ने भएकाले त्यसका लागि उनीहरुले नक्कली नागरिकतादेखि नाता प्रमाणपत्र समेत नक्कली बनाएको खुलेको प्रहरीले जनाएको छ। जसकारण कागजात कीर्तेको कसुरमा समेत अनुसन्धान आकर्षित हुने प्रहरीको भनाइ छ ।
नेपालदेखि भारतसम्म पुर्याउन फरक फरक व्यक्तिको प्रयाग भएको पाइएको छ । १० लाख रुपैयाँ दिने भने पनि पीडितले भने अनुसार रकम नपाएको प्रहरी समक्ष बताएका छन् ।