काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको हो ।
गएरातिदेखि पटक-पटक यो ठाउँमा पहिरो गइरहेको छ । निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाउन थालिएको छ । पहिरो पन्छाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ । साना सवारी साधनहरूलाई भने गल्छी-नुवाकोट सडकखण्ड प्रयोग गरेर आउजाउ गर्न भनिएको छ ।