भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य बीमाको दायरा बढाएर ५ लाख पुर्याउने तयारी गरिएको बताएका छन् । भक्तपुरको दधिकोटस्थित सिर्जनशील समाजको आयोजना तथा आयु सुपरस्पेशियालिटी क्लिनिक प्रा.लि.को सहयोगमा आज आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा तीज कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले हाल रहेको सुविधा अपर्याप्त रहेको बताउँदै नागरिकलई स्वास्थ्य सेवामा सहज र गुणस्तरीय पहुँच बनाउनका लागि उक्त कदम अघि बढाइएको बताएका हुन् ।

आफु मन्त्री भएको एक महिनामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पहिचान गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले समस्या समाधानमा केन्द्रीत भएरहेको बताए । एक महिनामा स्वास्थ्य क्षेत्रमा के के समस्या, विकृति तथा विसंगतीहरु रहेको छन् ? भन्ने कुराको विस्तृतमा अध्ययन गरिरहेको मन्त्री थापाको भनाई थियो ।
त्यसता समस्या समाधानका उपायहरु समेत पहिचान गर्दै गरेको थापाले बताए । सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउन नसकेको उल्लेख गर्दै मन्त्री थापाले कतिपय अस्पतालमा मेडिकल समाग्रीसमेत भरपर्दो रुपमा उपलब्ध गराउन नसकेको बताए । सोहि काराण स्वास्थ्य क्षेत्रका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको मन्त्री थापाको भनाई थियो ।

केहिदिन अघिमात्र संघीय स्वास्थ्य मन्त्रीको अध्यक्षतामा सातैवटा प्रदेशका स्वास्थ्यमन्त्री सहितको बैठक बसी स्वास्थ्य बिमाको एक लाख रुपैयालाई कसरी पाँच लाख बनाउन सकिन्छ, स्रोत व्यवस्थापन कसरी गर्ने, भन्ने विषयमा व्यापक छलफल मन्त्री थापाले बताए । अब छिट्टै स्रोतको व्यवस्थापन गरी बिमाको एक लाख रुपैयालाई पाँच लाखसम्मको स्वास्थ्य विमा पुुर्याउँने थापाको भनाई थियो ।
बागमती प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अगाडी बढाइरहेको उल्लेख गर्दै मन्त्री थापाले क्यान्सर, मुटु लगायतका नसर्ने रोगहरुको उपचार निशुल्क गर्ने भनि सम्झौता भइरहेको जानकारी दिए। आफ्नो स्वास्थ्यलाई वर्षमा एक पटक भए पनि परिक्षण गर्नु पर्ने धारणा राख्दै उनले जनघनत्वको हिसावले भक्तपुरको सूर्यविनायक नगरपालिका अत्याधिक बढिरहेकाले स्वास्थ्य क्षेत्रमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सूर्यविनायक नगरपालिका क्षेत्रको २०६८ सालको तथ्याङ्क अनुसार ७८ हजारमात्र जनसंख्या रहेकोमा २०७८ को तथ्याङ्क अनुुसार करिव १ लाख ४० हजारभन्दा बढी जनसंख्या पुुगेको थापाले बताए। समाजका अध्यक्ष अर्जुन केसीको सधापतित्वमा सम्पन्न कार्यक्रममा गठ्ठाघरस्थित आयु सुपरस्पेशियालिटीकी डा. उषा गुुरुङ, सिर्जनशील समाजकी पुर्व अध्यक्ष मोहनी घिमिरेले शिविरको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए ।

महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा आयोजित शिविरमा पाँच दर्जनबढी महिलाको स्वास्थ्य परिक्षण गर्नुका साथै क्यानसर लगायतका रोक लाग्न नदिन अपनाउँनु पर्ने बारेमा डा. जमुना पौडेल लगायतका चिकित्सकले जानकारी दिएका थिए ।