काठमाडौं । भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ । उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको हो ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले केन्द्रीय गृहमन्त्री अमित शाह र वरिष्ठ अधिकारीहरूलाई मृतकहरूको शव फिर्ता ल्याउने बारेमा कुरा गरेका थिए ।
मुख्यमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा शाहले शव फिर्ता ल्याउन समन्वयका लागि विशेष अधिकारी नियुक्त गरिएको र भारतीय वायुसेनाको विशेष विमान प्रदान गरिने बताएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।
घाइते १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएकाहरूको शव परीक्षण चितवनको भरतपुर अस्पतालमा सुरु गरिएको छ । परीक्षणपश्चात शव भारत पठाइनेछ ।
एक्सप्रेसका अनुसार शव नेपालबाट उत्तर प्रदेशको गोरखपुर ल्याइनेछ । त्यसपछि वायुसेनाको विमानबाट नासिक ल्याइनेछ । त्यसपछि शव परिवारलाई हस्तान्तरण गरिनेछ ।
विशेष विमानमा भारतका केन्द्रीय युवा मामिला तथा खेलकुदमन्त्री रक्षा खड्से पनि आउने बताइएको छ ।