काठमाडौं । विराटनगरको बाल सुधारगृहबाट दुई बालक भागेका छन् । कानुनी विवादमा जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो पर्खाल नाघेर भागेका हुन् ।
कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक फरार भएका हुन् । दुवैको उमेर १६ वर्ष छ । भागेका बालक सुनसरीका हुन् ।
अदालतले कोशी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो ।
सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना मंगलबार दिउँसो ३ बजेतिर भागेका हुन् । फरार भएका बालकहरुको खोजी भइरहेको जनाइएको छ । सुधारगृहमा क्षमताभन्दा बढीलाई राखिएको छ। ५० जनाको क्षमता रहेकोमा २ सय ३८ जनालाई राखिएको छ ।