भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ७.५५ प्रतिशत हो ।
आन्तरिक राजस्व कार्यालयको चालु आर्थिक बर्षमा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । “साउनमा ३२ करोड ८७ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१.९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन”, उनले भने ।
आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट ८ करोड ९१ लाख २ हजार रुपैयाँ, ब्याजबापत २ करोड ४० लाख ८७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार रुपैयाँ र अन्तःशुल्कबापत ६ करोड ८९ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताए ।