काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले एक महिनामा भए गरेका कामको प्रगति र आगामी दिनको कार्ययोजना सार्वजनिक गरेका हुन् ।
भौतिकमन्त्री दाहालले पूर्वाधार निर्माणलाई गति दिन र नागरिकलाई सेवा प्रवाहमा सहजताको अनुभूति दिलाउन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइएको र त्यसको नियमित अनुगमनसमेत भइरहेको बताए । वस्तुनिष्ठ योजनासहित नतिजामुखी भएर काम गर्न लागिपरेको पनि उनको भनाइ छ ।
वर्षात् अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिएको र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढिमा दुई घण्टाभित्र अवरोध हटाई सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
सो कार्यका लागि १ सय ३५ वटा यान्त्रिक उपकरण विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने १ सय २९ वटा यान्त्रिक उपकरण आवश्यकताअनुसार तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, वर्षात्का कारण अवरुद्ध हुने सडक यातायातको प्रत्यक्ष जानकारी मन्त्रीको कार्यकक्ष मै हुनेगरी ‘रोड क्लोजर अपडेटको सिस्टम’ जडान गरिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको छ । निर्माणाधिन बाहेकका प्रमुख राजमार्गमा प्रथम चरणको पटके मर्मत सम्पन्न गरी छ हजार किलोमिटर सडक लम्बाइमा खाल्डाखुल्डीरहित बनाइने लक्ष्यअनुसार पटके मर्मतका लागि सबै सडक डिभिजन कार्यालयबाट बोलपत्र आह्वानको सूचना प्रकाशन भइसकेको र पहिलो चरणको पटके मर्मत दसैँ अगावै सक्ने लक्ष्य राखिएको मन्त्रालयका सचिव केशककुमार शर्माले जानकारी दिए ।
सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनका लागि गत साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, बर्दिवास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुलमध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास सम्पन्न भएको जनाइएको छ । भौतिक मन्त्रालयले चालु आर्थिक वर्षका लागि पाएको वार्षिक बजेटमध्ये गत साउन मसान्तसम्ममा ६ अर्ब १८ करोड रुपैयाँ खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको छ ।
आयोजनाको काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने सुनिश्चतताका लागि निर्माणाधीन सडक तथा पुलको स्थलगत अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । गत साउन १८ गते सूर्यविनायक–धुलिखेल सडकको स्थलगत अनुगमन गरी निर्माण अवस्था अवलोकन गर्नुका साथै आयोजनाका चुनौतिबारे स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरेको जनाइएको छ ।
अरनिको राजमार्गको धुलिखेल खाबा खण्डमा सडक निर्माण सञ्चालन हुन नसकी सो सडकबाट दैनिक गुड्ने सयौँ सवारी साधन र तिनमा सवार यात्रुले सास्ती खेप्नुपरेको गुनासो आएको सन्दर्भमा उक्त सडक खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र तीन महिनभित्र निर्माण सम्पल गर्न निर्देशन दिइएको मन्त्रालयको कार्यप्रगतिमा उल्लेख छ ।
त्यसैगरी, अरनिको राजमार्गको बाह्रबीबसे नजिक खागदल खोलाको पूल वर्षाले बगाएकाले सवारी ताथा मानिस आवागमनमा समस्या भएकोमा उक्त अवरुद्ध सड़क डाइभर्सन गरी तत्काल सञ्चालन गर्न र सो स्थानमा तत्कालका लागि बेलिब्रिज जडान गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ । उक्त स्थानमा अहिले डाइभर्सनमार्फत सडक सञ्चालन भइरहेको र बेलिब्रिज जडानका लागि गत साउन २५ गते ठेक्का लगाइ बेलिब्रिज जडान सुरु भइसकेको जनाइएको छ ।
मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालमा रिक्त रहेको तीन जना बोर्ड सदस्यको पदपूर्ति गरी बोर्डलाई पूर्णता दिइएको पनि कार्यप्रगतिमा उल्लेख छ । त्यस्तै, मन्त्रालय मातहतका रुग्ण ठेक्काको अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको जनाइएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा बजेट अभावमा भुक्तानी हुन नसकेको ८ अर्ब ६६ करोड रुपैयाँ रकमको विवरण सङ्कलन गरी बजेट व्यवस्थापनको लागि पहल गरिएको जनाइएको छ । यस अवधिमा सडक विभागको पूँजीगत खर्च ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङमा गत साउन महिनामा मात्र एक सय ८८ मिटर क्रङ्क्रिट लाइनिङ सम्पन्न गरी जम्मा २ हजार ४ सय २६ मिटर लाइनिङ सम्पन्न भएको जनाइएको छ । त्यस्तै, सिद्धबाबा सुरुङको १ सय ४४ मिटर सुरुङ खन्ने काम सकिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे खण्डको ठेक्का सम्झौता सम्पन्न भएकोमा हाल निर्माण व्यवसायी आयोजना निर्माण क्षेत्रमा परिचालन हुनेक्रममा रहेको जनाइएको छ ।
हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको माडी बगाइदेखि अमुवा हुँदै ठोरी सडकको विकल्पमा बगाइदेखि कुसुमखोला हुँदै ठोरी र रिउ राप्ती खण्डमा कसरी पुलदेखि ध्रुवाघाट देउराली बनकट्टासम्मको विकल्पमा रिउ खोलादेखि ध्रुवाघाट राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक खण्डको रेखाङ्कन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जनाइएको छ ।
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण समयमा हुन नसकेको विद्यमान अवस्थामा राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी सवारी चालक अनुमतिपत्रको विद्युतीयप्रति हेर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ ।
इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिइएको, क्युआर कोडसहितको सवारीचालक अनुमतिपत्र छपाईका लागि खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको, सवारी दर्ता प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएकोलगायतका विषय समीक्षा प्रतिवेदनमा राखिएका छन् ।