काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।
आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।
फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।
आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।
कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।