काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिशूलीमा बस दुर्घटनाबारे छलफल गर्न बनेको अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार त्रिशूलीमा भएको बस दुर्घटनाबारे मन्त्रालयमा भएको छलफलमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जति पनि सुझाब छन्, तिनलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइनेछ । मन्त्रालयले गर्नुपर्ने सुझाबलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
यस्तै, उनले सडक दुर्घटना एकदमै संवेदनशील विषय भएको भन्दै यस्ता किसिमका दुर्घटना न्यूनीकरण गर्न सरकार सबै उपाय अवलम्बन गर्न तयार रहेको पनि बताए ।
उनले भने, ‘सडक दुर्घटना एकदमै संवेदनशील विषय हो । जन र धन दुवैको क्षति हुने गरेको छ । घटनाबारे अध्ययन समितिले बनाएको प्रतिवेदन प्राप्त भएको छ । सडक दुर्घटना रोक्नुपर्छ । यसका लागि उचित उपाय अवलम्बन गर्नुपर्छ भनेर पहिलोपटक समिति नै बनाएर अध्ययन गरेका छाैँ । यस्ता किसिमका दुर्घटना न्यूनीकरण गर्न आवश्यक छ । घटना नहुने सुनिश्चितता गर्न आवश्यक छ । यसका लागि सरकारले सबै उपाय अवलम्बन गर्नेछ ।’
यी हुन् दुर्घटनाका मुख्य पाँच कारण
१- सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको कमजोरीको कारण २ वटा बस त्रिशूलीमा खसेको हो ।
२- सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको र दुर्घटना भएको ठाँउ दुवैतर्फको भिरालो जमिन भएको ।
३- सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको हो।
४- सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको ।
५- एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन् । ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भयो ।
यस्तै सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।
विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।