काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका–१२, गम्हरियामा आइतबार बोलबमका तीर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृतक ४५ वर्षीय पतही देवीका छोरीसहित चार जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी जोगिन्द्र मण्डलकी श्रीमती ४५ वर्षीया पतही देवीको उपचारको क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
दुर्घटनामा पतही देवीकी छोरी ११ वर्षीया अंशु कुमारीसहित चक्रघट्टा गाउँपालिका–५, पडरियाकै २६ वर्षीया शान्ति देवी, उनकी छोरी नौ वर्षीया सुस्मिता कुमारी र ४० वर्षीया गीता देवी घाइते भएका हुन् । चारै जना घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।
भारतको मढियास्थित मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्री बोकेर चक्रघट्टा गाउँपालिका–५, पडरियातर्फ जाँदै गरेको ज २ त ३२७ नम्बरको ट्याक्टर आइतबार बिहान ११ बजेतिर गम्हरिया छेउको नहरमा खसेर दुर्घटना भएको हो । ट्याक्टर नियन्त्रण गुमाएर भरी पानी रहेको नहरमा खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा २५ जना तीर्थयात्री सवार रहेकोमा अन्य सकुशल रहेका छन् । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।