काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को मौका (पुरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको हो ।
दुई विषयसम्म नन ग्रेडेड (एनजी)आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा आगामी भदौ २५ र २६ गते बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ ।

