काठमाडौं । ललितपुरमा थप दुइृ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै देशभर हैजार सङ्कमित सङ्ख्या २५ जना पुगेको छ । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको जनाइएको छ ।
यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने जनाइएको छ ।
बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।