काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।
जंगीअड्डामा २०८१ साउन ३ गते आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’मा उमेर, प्रमाण पत्र नम्बर र जारी मिति फरक नपरेको बताएका थिए ।
सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उनको भनाइ थियो ।
योसँगै कामु प्रधानसेनापति सिग्देल २६ भदौपछि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नेछन् ।