काठमाडौं । पाल्पामा सर्वसाधारणलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा पहेलो (सुन जस्तै देखिने बस्तु) देखाई प्रलोभनमा पारी शरीरमा लगाएको सुनका गहना ठगी गरेकाे आराेपमा तिनाउ गाउँपालिका–३ झुम्साका ६३ वर्षीय चुडामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका-८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका- १ का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका-५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेललाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।
प्रहरीले बाटोमा हिंडिरहेको अवस्थामा फेला पारी उनीहरुलाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्ने क्रममा चुरामणी गाहा मगरले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सुनको डल्ला भनी झुक्याएको जस्तो बस्तु फेला पारेको थियो ।
प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान बरामद गरिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।