काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।
१३ पुस २०८० मा बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनमुलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख गदै उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको जनाइएको छ ।
घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरिरहेको बेलामा प्रदर्शन स्थलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको आयोगको निष्कर्ष छ । मन्त्री ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।