लुम्बिनी केबलकारको मर्निङ अफर, हरेक सोमबार टिकट काट्दा ५० प्रतिशत छुट

लुम्बिनी केबलकारको मर्निङ अफर, हरेक सोमबार टिकट काट्दा ५० प्रतिशत छुट

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • लुम्बिनी केबलकारको मर्निङ अफर, हरेक सोमबार टिकट काट्दा ५० प्रतिशत छुट

    काठमाडौं । लुम्बिनी केबलकारले टिकट दरमा आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छूटसहित मर्निङ अफर ल्याइए हो । 

    केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले उक्त जानकारी दिए। केबलकारको साधारण टिकट दर १ हजार रुपैयाँ छ। यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने कायस्थले बताए।

    ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागू हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्,’ अपरेसन म्यानेजर कायस्थले भने।

    यसबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम छ। यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र १०० वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले बताएको छ ।

    साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले बताएको छ । यो अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरूले भने ५०० भारुमा टिकट खरिद गर्न सक्ने छन् ।

    लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र १०० वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर प्रज्वल घिमिरेले बताए ।

    टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ ।

    लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार र व्यवसाय थप चलायमान भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij