उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको रास्वपाको दाबी

उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको रास्वपाको दाबी

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको रास्वपाको दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले सिफारिस गरेको भनिएको पत्र नेपालस्थित अमेरिकी राजदूतावासमा दर्ता नभएको दाबी गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको र सिफारिस गरिए अनुसारको सुविधा पनि नपाएको दाबी गरेका हुन् । 

    ‘हामीले पत्र देख्यौं, त्यो १८ महिनाअगाडिको रहेछ,’ झाले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘पत्र अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ । दर्ता नभएको र सिफारिस अनुसारको सुविधा पनि नपाएको रहेछ । सो पत्र कतै नगएको र कार्यान्वयन पनि नभएको पाइयो । कतै पनि आर्थिक चलखेल नभएकोसमेत पाइयो ।’

    उपसभामुख पार्टी सदस्य नभएको भन्दै झाले संसद् सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीबारे हुने छलफल र निर्णयलाई सचेतनापूर्वक हेर्ने पनि बताए । 

    ‘उपसभामुख अहिले पार्टीको सदस्य पनि हुनुहुन्न । त्यसले गर्दा संसद् सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ, के निर्णय हुन्छ, त्यसको आधारमा हामी पनि सचेत भएर बसेका छौं,’ उनले भने । 

    रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।

    पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले गत वर्षको फेब्रुअरीलाई अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् । अहिले आएर सो पत्र सार्वजनिक भएसँगै कतिपयले मानव तस्करीसँग जोडेर उनको आलोचना भइरहेकाे छ ।

    यो प्रकरण सार्वजनिक भएपछि उपसभामुख रानामगरमाथि अनुसन्धान गर्दा उनी निर्दोष रहेको पाइएको रास्वपाले दाबी गरेको हो । 

    केहीदिनअघि पनि रास्वपाले यस प्रकरणमा उपसभामुख रानामगर निर्दोष रहेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij