काठमाडौं । देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।
त्यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि बिहान तराईका भू–भाग, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।
महाशाखाले मौसमको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।