थापाथलीमा तिहार लक्षित तीनदिने रैथाने मेला सुरु

थापाथलीमा तिहार लक्षित तीनदिने रैथाने मेला सुरु

आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • थापाथलीमा तिहार लक्षित तीनदिने रैथाने मेला सुरु

    काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै काठमाडौंको थापाथलीमा तीनदिने रैथाने मेला सुरु भएको छ । नेपाली मौलिक संस्कृति, परम्परागत खाद्य परिकार, स्थानीय उत्पादन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

    सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा आयोजना गरिएको मेलामा कृषक, कृषि सहकारी, कृषक समूह, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकले आफ्ना उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन् ।

    मेलामा तिहार विशेष परिकार, परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकला, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ ।

    स्थानीय उत्पादनको पहिचान, संरक्षण र बजारीकरण गर्दै कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने मेलाको उद्देश्य रहेको कम्पनीले जनाएको छ । यसबाट महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै स्वदेशी उत्पादनको उपभोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सरकारले आगामी दिनमा साताको दुई दिन सार्वजनिक बिदाको अवसर उपयोग गर्दै सप्ताहान्तमा पनि यस्ता मेला तथा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसै अभ्यासलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने सरकारको तयारी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij