भक्तपुर । स्वस्थ जीवनशैली प्रवद्र्धन गर्दै स्थानीयवासीलाई स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोट पानीटंकी नजिक आरोग्य फुड्स प्रालि सञ्चालनमा आएको छ । यमपञ्चकको पहिलो दिन पारेर शुभारम्भ गरिएको संस्थाको उद्घाटन जीवन विज्ञान प्रतिष्ठानका जीवन विज्ञान विशेषज्ञ तथा संस्थापक रमेश नेपालले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपालले स्वास्थ्यलाई सबैभन्दा ठूलो धनका रूपमा लिनुपर्ने बताए । ‘पहिला विद्यालाई धन भनिन्थ्यो, तर स्वास्थ्यरूपी धन भए मात्र अन्य सबै धन प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘रोगरहित जीवन जिउन सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको जीवन विज्ञानको अभियानमा आरोग्य फुड्स पनि जोडिन आएकोमा खुसी लागेको छ ।’
नेपालकै प्रस्तावमा पहिलोपटक अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा मनाउन थालिएको उल्लेख गर्दै उनले सोही अभियानको सिलसिलामा आरोग्य फुड्स स्थापना हुनु सकारात्मक भएको बताए । संस्थाले नामअनुसारकै गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै उनले खाद्य सामग्री कहाँ उत्पादन भएको हो, कति उचाइमा फलेको हो र त्यसको विशेषता के हो भन्ने विवरणसमेत उल्लेख गरेर बिक्री गर्न सुझाव दिए ।
‘उत्पादनको स्रोत र गुणस्तरबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन सके आरोग्य फुड्स काठमाडौं उपत्यकामा मात्र नभई देशभर र विदेशमा समेत लोकप्रिय बन्न सक्छ,’ उनले भने । व्यवसायमा आफ्नो मात्र नभई अरूको भाग्य र भविष्य पनि जोड्न सक्ने कला आवश्यक रहेको उनको भनाइ थियो । जीवन विज्ञानले आहार, विहार, व्यवहार र विचारका विषयमा काम गर्दै आएको पनि उनले जानकारी दिए ।

आरोग्य फुड्सकी व्यवस्थापक रगिता बस्नेतले स्थानीयवासीलाई स्वच्छ र स्वस्थ सामग्री उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको बताइन् । गुणस्तरीय उत्पादनमार्फत स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने संस्थाको लक्ष्य रहेको उनको भनाइ थियो ।
जीवन विज्ञान परिषद् बागमती प्रदेश संयोजक सन्तोष खड्काले आरोग्यता कुनै एउटा समुदायको मात्र नभई विश्वकै साझा एजेन्डा भएको बताए । जीवन विज्ञानले पनि आरोग्यतालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले संस्थालाई दीर्घकालीन रूपमा अघि बढाउन उत्पादनको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । नामअनुसारको काम गर्न सके संस्था सफल हुने भन्दै उनले डिजिटल माध्यमबाट प्रचारप्रसारलाई समेत प्रभावकारी बनाउन आग्रह गरे ।
जिल्ला सहकारी संघ भक्तपुरका कोषाध्यक्ष राजकुमार सिलवालले नाफामुखी संस्थाहरू खुल्ने क्रम बढिरहेका बेला स्थानीय क्षेत्रमा आरोग्य फुड्स स्थापना हुनुले यहाँका बासिन्दालाई गुणस्तरीय सामग्री उपभोग गर्ने अवसर मिल्ने बताए ।
महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसीले आफ्नो क्षेत्रमा समेत आरोग्य फुड्सका उत्पादन स्थानीयवासीले उपभोग गर्न थालेकोमा खुसी ब्यक्त गरे । समाजलाई स्वस्थ बनाउने उद्देश्यसहित अघि बढेको संस्थाको अभियान सफल हुने विश्वास उनले व्यक्त गरे ।
आरोग्य फुड्सका अध्यक्ष बलराम खड्काले संस्थाका उत्पादन उपभोग गरेर गुणस्तरबारे प्रतिक्रिया दिन आग्रह गरे । उत्पादन राम्रो लागेमा छिमेकी तथा अन्य उपभोक्तालाई समेत जानकारी दिन र कुनै कमी–कमजोरी भेटिएमा संस्थालाई सुझाव दिन उनले अनुरोध गरे ।
कार्यक्रममा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंले कर्मयोग र सेवाभावको महत्वमाथि प्रकाश पारिन् । कर्मयोगी मानिसलाई भगवान्ले समेत साथ दिने उनको भनाइ थियो । कार्यक्रमको सञ्चालन समेत उनैले गरेकी थिईन् ।
उद्घाटन समारोहमा अष्टलक्ष्मी पञ्चेबाजा समूहले पञ्चेबाजा प्रस्तुत गरेर कार्यक्रमलाई सांस्कृतिक रौनक दिएको थियो । कार्यक्रमको अन्त्यमा देउसी खेलेर उपस्थित सबैलाई सञ्चालक चौलागाईंले नचाएकी थिईन् ।