ठेक्कामा पारदर्शिताको नयाँ अभ्यास, सूर्यविनायकद्धारा प्रत्यक्ष प्रसारणमार्फत बोलपत्र खुल्ला

ठेक्कामा पारदर्शिताको नयाँ अभ्यास, सूर्यविनायकद्धारा प्रत्यक्ष प्रसारणमार्फत बोलपत्र खुल्ला

शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • ठेक्कामा पारदर्शिताको नयाँ अभ्यास, सूर्यविनायकद्धारा  प्रत्यक्ष प्रसारणमार्फत बोलपत्र खुल्ला

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यले नगरपालिकाले बोलपत्र मूल्याङ्कन तथा खोल्ने कार्यको भिडियो रेकर्डिङसहित अनलाइन प्रत्यक्ष प्रसारण गरेको हो ।

    नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार १३ वटा ठेक्काका लागि कुल ९ सय ४७ वटा बोलपत्र फारम बिक्री भएका थिए । एउटा फारमको मूल्य ३ हजार रुपैयाँ तोकिएको थियो । यसअनुसार फारम बिक्रीबाट नगरपालिकाले २८ लाख ४१ हजार रुपैयाँ आम्दानी समेत गरेको छ ।

    नगरपालिकाले सार्वजनिक गरेको विवरणमा १३ वटा ठेक्काको कुल लागत अनुमान भ्याटसहित १६ करोड २८ लाख ४८ हजार २ सय रुपैयाँभन्दा बढी रहेको छ । यी आयोजनाका लागि सबैभन्दा बढी फारम बिक्री भएको ठेक्कामा १ सय ६५ वटा र सबैभन्दा कम फारम बिक्री भएको ठेक्कामा ५ वटा फारम बिक्री भएको विवरणमा उल्लेख छ ।

    नगरपालिकाका अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार हुँदै आएका खरिद प्रक्रियामा सरकारी ईजीपी (इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट) पोर्टलमा देखिएको प्राविधिक समस्याका कारण विकास निर्माणका ठेक्का आह्वानमा कठिनाइ भएको थियो । पोर्टलको समस्या समाधान हुन करिब दुई महिना लाग्ने अवस्था आएपछि सरकारी परिपत्रअनुसार हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको हो ।

    हार्डकपीमार्फत बोलपत्र आह्वान गर्दा बोलपत्रको गोपनीयता र सुरक्षासँगै मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको जनाएको छ । बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने प्रक्रियालाई भिडियो रेकर्डिङसहित अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको हो । भक्तपुरको नमस्ते ख्प्प टेलिभिजनको फेसबुक पेज र सूर्यविनायक नगरपालिकाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको भिडियो हेर्न सकिनेछ । नगरपालिकाका पूर्वाधार शाखा प्रमुख तथा बरिष्ठ इन्जिनियर जनक न्यौपानेको नेतृत्वमा नगरपालिकाको टिमले बोलपत्र खोल्ने काम गरेको थियो ।

    नगर प्रमुख बासुदेव थापाले सार्वजनिक खरिद प्रक्रियामा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले सुरु गरिएको यो अभ्यासले नगरपालिकाको भ्रष्टाचार शून्य सिद्धान्तलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रमको सफलताका लागि शुभकामना दिँदै नगरवासी, संघसंस्था तथा सम्बन्धित सबैलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

    यसबाट बोलपत्रमा सहभागी निर्माण व्यवसायीले थप शुल्क नतिरी आफूले वा अन्य प्रतिस्पर्धीले पेस गरेको बोलपत्रको सफ्टकपी जुनसुकै समयमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आज कार्तिक २० वाट खोल्न सुरु भएको बोलपत्र   सबै खोलिसक्न १ महिना लाग्ने नगरपालिकाको पूर्वाधार शाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij