डीडीसीका पूर्व महाप्रबन्धक झासहित आठ कर्मचारी पक्राउ

डीडीसीका पूर्व महाप्रबन्धक झासहित आठ कर्मचारी पक्राउ

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • डीडीसीका पूर्व महाप्रबन्धक झासहित आठ कर्मचारी पक्राउ

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ कर्मचारी पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन महाप्रबन्धक संजीव झासहित आठ जनालाई पक्राउ गरेको हो । सीआईबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरूलाई आपराधिक विश्वासघात गर्न नहुने कसुरमा पक्राउ गरिएको हो ।

    गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्‍याएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्र प्रमुख तथा कर्मचारीले आपसी मिलेमतोमा सङ्गठित सञ्जाल बनाएर संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याएका थिए । उक्त कार्यबाट संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको नोक्सानी भएको र गैरकानुनी लाभ लिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

    पक्राउ पर्ने अन्यमा विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी रहेका छन् ।

    प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई कात्तिक १३ गते उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij